News Griha :: न्यूजगृह
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
फाइल तस्बिर ।

काठमाडौं— पूर्वाधार विकास समितिले देशभर बाढीपहिरोबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ । 

सोमबार बसेको समितिको बैठकले बाढीपहिरोमा परी घाइते भएकाको शीघ्र उद्धार गरी उपचारको प्रबन्ध गर्न र विस्थापित परिवारको गाँस, बासको उचित व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 

समिति सभापति लालवीर चौधरीले क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका भौतिक संरचनालाई तत्काल मर्मतसम्भार गरी अवरुद्ध सडक सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए । 

कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुमलगायतका जिल्लामा अविरल वर्षाका कारण बाढी पहिरोले मानवीय क्षतिका साथै सडक, पुल, बेलीब्रीज विविध विकास आयोजना र मानव बसोबास क्षेत्रमा ठूलो क्षति भएका सम्बन्धमा समितिले ध्यानाकर्षण प्रकट गरेको हो । रासस

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:५३
Weather Update