News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच विराटनगरमा वार्ता

विराटनगर— कोशी प्रदेशको नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधर समूह र कोशी प्रेदश सरकारबीच वार्ता जारी छ । 

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्ने प्रयोजनका साथ समिति बनाएपछि सोमबार वार्ता भएको हो । घोषणा भएदेखि नै प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेको थियो । यही आग्रहसँगै  विराटनगरस्थित एक होटलमा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता जारी छ । 

वार्तामा पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राईलगायत सहभागी छन् । यस्तै, प्रदेश सरकारको तर्फबाट सिँचाइ, खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन् । 

गत फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरू निरन्तर आन्दोलनमा छन् । आन्दोलनका क्रममा पहिचान पक्षधर प्रदर्शनकारी पदम लिम्बू लागेहाङको गत चैत ५ गते विराटनगरमा भएको झडपमा मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:३२
Weather Update