News Griha :: न्यूजगृह
विपद्बाट नागरिकको ज्यान गएका बेला गृहमन्त्री समाजवादी मोर्चामा लागे : रास्वापा सांसद झा
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । 

वर्षात्का कारण पूर्वी पहाडी जिल्लाहरूमा विपद्मा परी उपचार नपाएर नागरिकहरूको ज्यान समेत गइरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाए । ‘आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछ । तर, हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भने । 

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले वर्षात्का कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका मन्त्रीहरू संसद्मा बेखबर रहेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरूमा मरिन्छ कि भन्ने डर बढ्दै गइरहेको तर, सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाए । ‘हाम्रो प्रधानमन्त्रीलगायत अरू व्यक्तिहरूको जिम्मेवार पदमा रहेका उहाँहरूको उपस्थिति के हुँदैछ । हामी जनप्रतिनिधि हौँ । हामीले पनि जवाफ दिनु पर्नेछ,’ उनले भने, ‘तर, हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौँ । यसका लागि अनुरोध गर्दछौँ ।’

सांसद झाले आफूहरूले विपद् व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसद्लाई जानकारी गराउन ढिलाइ गर्न नहुने बताए । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:२०
Weather Update