
काठमाडौं— सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुड्खु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट टाइमकार्ड लागु गरिएको छ ।
तीव्र गतिमा सवारीसाधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि टाइमकार्ड लागु गरिएको हो ।
मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र पालना भए नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुनेछ । मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ ।
मुड्खुदेखि तीनपिप्लेसम्मको ५ किलोमीटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडकखण्डमा न्यूततम २५ मिनेट समय निर्धारण गरिएको छ ।
तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ । टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध पनि गरेका छन् ।













