
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालका विभिन्न जिल्लामा बाढीपहिरोका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरूको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
पाँचथर, सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराेका कारण ठूलो धनजनको क्षति भएपछि आइतबार नै आपतकालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन् ।
आइतबार मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिएका छन् ।
गृहमन्त्रीको निर्देशन पश्चात आइतबार इटहरीबाट पुलका सामान त्यसतर्फ पठाइ सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पूर्वतयारी स्वरुप त्यहाँ पुलका सामान भण्डारण गरिएकाले पूर्वका लागि इटहरीबाट व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।
दुई वर्षअघि जस्तै मनसुनको सुरुआती समयमै मेलम्चीलगायत विभिन्न जिल्लामा एकैपटक हानेको र त्यही ट्रेन अहिले पनि देखिएको उनले बताए ।