
काठमाडौं— बलात्कारसम्बन्धी एउटा फैसला उच्च अदालत दिपायलले उल्ट्याएको छ ।
न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले केटा पक्षका लागि जिल्ला अदालतबाट भएको फैसला यथास्थितिमा राख्दै एक किशोरीलाई सुनाइएको ३ वर्ष ६ महिना भएको फैसला उल्टाएको हो ।
ती किशोरी २०७८ साल फागुन १० गते आफूमाथि बलात्कार भएको भन्दै न्यायका लागि अदालत गएकी थिइन् । किशोरीले अन्तिममा बयान फेरेपछि तत्कालीन जिल्ला न्यायाधीश नवीनकुमार जोशीले उक्त फैसला सुनाएका थिए ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ को ९ क १० बमोजिम ३ वर्ष ६ महिना कैद सजाय फैसला गरेको न्यायाधीशको दाबी थियाे ।
२०७९ साल वैशाख २१ गते जिल्ला सरकारी वकिल कार्यालय अछामले ती किशोरीलाई न्यायका लागि उच्च अदालत दिपायलमा मुद्दा दर्ता गराएको थियो ।
पटक—पटक स्थगित हुँदै आएको उक्त मुद्दा आइतबार १८औं पटकको पेसीमा फैसला भएको उच्च अदालत दिपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए ।