News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा के–के भयो ? 
फाइल तस्बिर

काठमाडौं— विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल सरकारबीच आइतबार दिउँसो बसेको बैठक सकारात्मक बनेको छ । सेवासुविधा, तलब वृद्धिलगायत केही माग राखेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीसँग सरकारले आइतबार वार्ता गरेको हो ।

वार्तामा विद्यालय कर्मचारीको तर्फबाट माग प्रस्तुत गरिएको र मागबारे सरकारी वार्ता टोलीले छलफल गरेको आन्दोलन परिचालन केन्द्रीय समिति सदस्य मुकेश कुमार यादवले जानकारी दिए ।

विद्यालय कर्मचारी र सरकारबीच आइतबार प्रारम्भिक छलफल भएको र सरकारले जुनसुकै बेलामा पनि वार्तामा बोलाउन सक्ने यादवले जनाए । 

सरकारले सुरुसुरुमा वार्ता सकारात्मक बनाउँदै लैजाने र अन्त्यमा सहमति गरेर कार्यान्वयन नगर्ने अवस्था छ । यसअघि पनि विद्यालय कर्मचारीले आन्दोलन गर्दा सोही अवस्था देखिएको थियो ।

सरकारले वार्तामा बोलाएपछि विद्यालय कर्मचारीले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले आन्दोलनका अन्य कार्यक्रमलाई भने यथावत् राखेका छन् ।

वार्तामा विद्यालय कर्मचारीबाट परिषद् अध्यक्ष गंगाराम तिवारीसहित अन्य र सरकारी पक्षबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललगायत थिए । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:३७
Weather Update