News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रहरीको लापर्बाहीले ज्यान गुमाउँदै निर्दोष

काठमाडौं— कैलालीका २५ वर्षीय वीरेन्द्र जैसी शनिबार (असार २) देखि माइतीघरमा एक्लै अनशनमा छन् । उनी पानीसमेत नपिई अनशन बसेका हुन् ।

आइतबार मध्यान्हको उखरमाउलो गर्मीमा यस पङ्तिकार पुग्दा उनी एक्लै माइतीघरबाट बानेश्वरतर्फ आउँदा पर्ने देब्रेपट्टि सडकको दाहिनेपट्टि हाइल्याण्डमा प्लास्टिकको म्याट बिछ्‌याएर बसिरहेका थिए ।

हेर्दा दुब्ला पातला देखिने उनको अगाडि एउटा कागजको बाकसलाई ‘डोनेसनबक्स’ को रुपमा राखिएको थियो । दाहिनेपट्टि अनशन सुरु गर्नुको कारण र सहयोगको अपिल गरिएको ब्यानर टाँगिएको थियो । ब्यानरबाट बुझ्न सकिन्छ सात वर्षअघि प्रहरीलाई सहयोग गर्दा अहिले उनको आफ्नै ज्यान जोखिममा परेको छ ।

Prabhu Bank

उनको वरिपरि नागरिकता विवाद, सहकारी ठगी, घरेलु हिंसामा ज्यान गुमाएकी आरती साहको परिवार लगायत ७ समूह आन्दोलित छ । ती समूहमा सय बढी आन्दोलनकारीको सहभागिता थियो । तर जैसी भने एक्लै पल्टिरहेका थिए ।  

के भएको थियो ?

स्थान : जानकी गाउँपालिका, कैलाली ।

समय : राति ८:३० बजे, फागुन १, २०७३ ।

रातिको खाना खाएर वीरेन्द्र जैसी घरमा बसिरहेका थिए । त्यतिबेला प्रहरीलाई सहयोग गरिदिन भन्दै एक जना सिपाही ढोका ढक्ढकाउन आए । 

अमरावती प्रहरी चौकीका इन्चार्जसमेत रहेका सई वृर्जलाल अधिकारी र सिपाही (जैसीको घरमा ढोका ढक्ढकाउन पुगेका) नियमित गस्तीमा थिए । जङ्गलबाट एक समूहले काठ तस्करी गरेर ल्याइरहेको थियो । गस्तीमा रहेको प्रहरीले काठ बोकेको गोरुगाडा रोक्यो । त्यसपछि काठ तस्करले प्रहरीमाथि आक्रमण गर्‍यो । प्रहरी टोली र तस्कर समूहबीच भिडन्त समेत भएको थियो । 

सई अधिकारीले एक जना तस्करलाई हतकडी लगाए । त्यतिबेला तस्कर समूहले फोन गरेर गाउँका अन्य केटाहरूलाई बोलाए । तस्कर समर्थक अर्को टोली घटनास्थलमा तुरुन्तै आइपुगे । काठ तस्करको चङ्गुलमा सई र सिपाही परे । करिब २० जनाको समूह मिलेर अन्धाधुन्द प्रहरीलाई कुट्न थाले । सई अधिकारीलाई तस्करहरूको गिरोहले समाते पनि सिपाही त्यहाँबाट भाग्न सफल भए र उनी सहयोगको लागि गाउँमा आए ।

‘मेरो घरबाट एक किलोमिटर पर भएको थियो उक्त घटना । सिपाहीले ढोका ढक्ढकाए र भने सई सा'पलाई तस्करहरूले कुटिरहेका छन् । उनीहरूले सई सा’पलाई मार्ने भए, तपाईँहरूले बचाइदिनुपर्यो भनेर गुहार मागे,’ जैसीले उक्त रात भएको घटनाको बेलीविस्तार लगाए ।

‘म पनि मानवताको नाताले घरबाट निस्केँ, सई सा'पलाई बचाउन,’उनले पङ्तिकारसँग भने । त्यसपछि उनीसहित करिब १० जनाको टोली प्रहरीलाई सहयोग गर्न निस्कियो । तस्करको नियन्त्रणबाट फुत्केका सईलाई जैसी र उनको समूहले बीच बाटोमै भेटायो ।

सई अधिकारीले दुई राउन्ड गोली चलाएपछि तस्कर समूह भागेको थियो । जैसीले भने,‘सई सा'ब बेहोसीमा आइराख्नु भएको रहेछ । एउटा चोकमा हामीसँग जम्काभेट भयो र त्यही अघि कै जमात ठानेर उहाँले गोली चलाउनुभयो  र सो गोली मलाई दाहिनेपट्टि करङमा लाग्यो ।’

गोली लागेपछि उनलाई तत्काल अस्पताल लगियो । टीकापुरमा उपचार सम्भव नभएपछि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज लगियो र त्यहाँबाट पनि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइयो । कोहलपुरमा उनी नबाँच्ने भनेर डाक्टरले भनिदिएका थिए । तर उनको बुबाले हरेस खाएनन् र काठमाडौं ल्याए, उपचारको लागि ।

डेढ महिनापछि उनी अस्पतालबाट त बाहिरिए, तर रोगी बनेर । भन्छन्,‘गत महिना मात्र इमरजेन्सीमा चारपटक अस्पताल भर्ना गर्नुपर्यो । पेटको समस्या छ । गोली करङबाट छिरेर पछाडि ढाडमा अड्केको थियो । खाना आफूले चाहेजति खान मिल्दैन, टाइम टाइममा खानुपर्छ । कम्मरको समस्या छ । सुतेपछि उठ्न नमिल्ने र उठेपछि सुत्न नमिल्ने । बेल्ट लगाउनुपर्ने अवस्था छ ।’

जैसीका बुबा भारतमा रोजगारी गर्थे र उनीसहित नौ जनाको परिवार परिवार पालिरहेका थिए । तर छोरालाई गोली लागेदेखि उनको उपचारको लागि करिब सात लाख ऋण मात्रै लिनुपरेको छ  । बुबाले उक्त ऋण तिर्न नसकिएको जैसी बताउँछन् । भन्छन्, ‘बुबालाई पनि क्यान्सर भएर अहिले त गाउँमा नै हुनुहुन्छ । खेती किसानी गरेर जेनतेन घर चलिरहेको छ ।’

जैसी, परिवारका जेठा छोरा हुन् । तर रोगका कारण उनी परिवारलाई सहयोग गर्न सक्दैनन् । उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने भयो । अहँ भने अनुसार भएन । उनले भने, ‘त्यसबेला विमलेन्द्र निधि गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले सहयोग गर्छु भन्नुभयो । उपचार खर्च ८ लाख दिने कुरो भएको थियो । तर भनेको कुरा कार्यान्वयन भएन ।’

उनले निधिसहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, बालकृष्ण खाण (शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका), रवि लामिछानेलगायत लाई भेटिसके । त्यतिमात्र होइन उनले अहिलेको सरकारका मन्त्री र प्रधानमन्त्रीलाई समेत भेटेर आफ्नो समस्या राखिसके । तर पनि सरकारले उनलाई आजसम्म पनि एक रुपैयाँ उपचारमा खर्च दिएको छैन । उनले भने, ‘गृह मन्त्रालयलाई भने प्रधानमन्त्री कार्यालय जाऊ भन्ने । बहुला कुकुरलाई धपाए जस्तो मलाई यता र उता धपाए ।’ 

सरकारको नालायकीपनको कारण अन्ततः उनी वार कि पारको लागि माइतीघरको शरणमा आइपुगेका हुन् । भन्छन्, ‘बारम्बार सरकारलाई भन्दा सरकारले सुनेन । बारम्बार तड्पेर मर्नुभन्दा बरु एकै पटक मर्छु भनेर खाना, पानी नखाई अनशन बस्छु भनेर आएको हुँ ।’

उनी अनशन बसेको बुबाआमालाई थाहा छ । ‘नबस भन्नुहुन्छ । तर म आफैँ डिप्रेसनमा गएँ,’ उनले भने, ‘म आफैँ सोच्न सकिरहेको छैन । अहिले त मेरो अवस्था यस्तो छ, भोलि कस्तो होला ?’ यता उनलाई गोली हानेपछि सई अधिकारीले उनलाई फर्केर समेत हेरेका छैनन् । उनी भावुक हुँदै भन्छन्, ‘रुवाउनु भयो उहाँहरूले धेरै । दुख त धेरै पाइयो जीवनमा । तर अझ थप दुख दियो, गृह मन्त्रालय र नेपाल सरकारले ।’

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीलेसमेत झण्डै आधा किलोमिटर पर मान्छेहरूको भिड देखेपछि सईले आत्मसुरक्षाको लागि फायर खोलेको बताएको थियो । तत्कालीन जिल्ला प्रहरी कार्यालयका डीएसपी सुदीपराज पाठकले जैसी काठ तस्कर नभएर स्थानीय भएको बताएका थिए ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:२०
Weather Update