काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले यही असार १ गते भारतीय प्राविधिको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरूले सुईको समेत नपाएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु । असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला,गड्डाचौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे । सर्भेका सामानसहित आएका ती प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईकोसमेत पाएनन् । के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु । ’
रास्वपा उपसभापतिसमेत रहेका सांसद अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताए । अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीहरूलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।