सुडानमा हवाई हमला : १७ जनाको मृत्यु

काठमाडौं— सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । सुडान सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै भएको यो आक्रमणमा ५ बालबालिकासहित १७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राजधानी खार्तुमको योरमौक निकट क्षेत्रमा भएको हवाई हमलाका कारण २५ वटा घर ध्वस्त भएका छन् । सो क्षेत्रमा सुडान सेनाद्वारा नियन्त्रित सैन्य क्याम्प समेत रहेको छ।
सुडानमा अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्स’ आरएसएफबीच गत अप्रिलबाट शुरु भएको सङ्घर्षमा पछिल्लो समय सर्वसाधारणलाई निशाना बनाइएको भन्दै मानव अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
दुई समुहबीचको युद्धमा हालसम्म हजारौँको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ११:०४