
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूको निर्णयप्रति इंकित गर्दै फरक उद्देश्य भएका तत्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका हुन् ।
उनले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताए । अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे ।
उनले भने, ‘अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन । समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन् सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त । हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित छ । चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन, एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, २०८४ सम्म हुनसक्छ हामी अब मिसन ८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन
।’
अध्यक्ष ओलीले नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताए ।