
काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतबार देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनेर पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै प्रमुख शाहले कारबाहीको चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ ।’
यसबा साथै महानगर प्रमुख शाहले महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूलाई नियमित कक्षा सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।
उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ ।’
उनले आफ्नो निर्देशनपश्चात् पनि विद्यालय बन्द गरेमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समिति विघटन गर्ने, फौजदारी मुद्दा चलाउन पहल गर्ने एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।