News Griha :: न्यूजगृह
बजेट पास हुन दिँदैनौँ : एमाले उपाध्यक्ष नेम्वाङ
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । 

शनिबार पार्टीका मधेस प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले भने, ‘भौतिक मन्त्रालयमा ५१ प्रतिशत झन्डै ५ अर्बको बजेट । त्यसमा ३ अर्ब मात्रै थियो रे । माग्दा अर्थमन्त्रीले उदारतापूर्वक ५ अर्ब पुर्‍याइदिनुभयो रे । के भयो यो भनेको त ५१ प्रतिशत ४ जिल्लामा छ । यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ । संघीय संसद्मा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष कि प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावविरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन ।’

उपाध्यक्ष नेम्वाङले सरकारले दुई दिनपछि (असार ३) गतेबाट अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्य सचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको बताए । मुख्य सचिवलाई सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने उनको भनाइ छ । 

उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरूले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताए । उनले नागरिकताको विषय टुंगोमा पुर्‍याउने नाममा संविधान र नियम भन्दा पर जान नहुने बताए । 
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:०१
Weather Update