News Griha :: न्यूजगृह
नयाँ दल खहरेको भेल जस्तै : महामन्त्री शर्मा 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छिट्टै कांग्रेस रूपान्तरणको राष्ट्रव्यापी अभियान सुरु गर्ने बताएका छन् ।

शनिबार प्रेस युनियन ललितपुरको सातौँ जिल्ला अधिवेशनमा उनले छिट्टै कांग्रेसले रूपान्तरणको राष्ट्रव्यापी अभियान सुरु गर्ने र विरक्तिएका मतदातालाई कांग्रेसमा फर्काउने दाबी गरे । 

उनले भने, ‘छिट्टै कांग्रेस रूपान्तरणको राष्ट्रव्यापी अभियान सुरु गछौँ । कांग्रेस सङ्लिनु र तंग्रिनुको विकल्प छैन । विरक्तिएका मतदाता र शुभेच्छुकलाई कांग्रेसमा फर्काउँछौँ ।’

नयाँपार्टीहरू खहरेको भेल जस्तै भएको भन्दै उनीहरूबाट डराउन आवश्यक नरहेको उनको भनाइ छ । उनले भने, ‘नयाँ दल खहरेको भेल जस्तै निकै गडगडाएर आयो भन्दैमा १  मेगावट बिजुली निकाल्न पनि सकिँदैन । आउँछन्–जान्छन् आत्तिनु पर्दैन उनीहरूसँग ।’

महामन्त्री शर्माले संसद्मा प्रधानमन्त्रीले बोल्दा विपक्षी दल सबै र पूर्वप्रधानमन्त्री समेत उभिएर विरोध गर्नु अस्वभनीय रहेको बताए । 

उनले भने, ‘सांसदहरू बोल्दै गर्दा हामी सुनेर बस्नुपर्ने हो र प्रधानमन्त्रीले बोल्दा त झन् सबैले सुन्नुपर्ने हो । तर, प्रधानमन्त्री बोल्दै गर्दा बीचमा प्रश्न उठ्यो । प्रधानमन्त्री बोल्दै गर्दा पूर्वप्रधानमन्त्री उभिनुभएको छ । विरोध गर्नको लागि त्यो कति अस्वभनीय दृश्य छ ।’

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १५:४२
Weather Update