News Griha :: न्यूजगृह
कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पर्खाइमा !  

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् । 

आफूले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई दिँदै गरेको तस्बिरसहित मिश्रले सामाजिक सञ्जालमा डा. कोइरालाले आफूसँगको भेटमा राजतन्त्रको पक्षमा रहेको बताएको दाबी गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि ! मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दु राष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ । गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन् ‘राजा’,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोधेँ– ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु ?’ उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो ।’

डा. कोइरालाको भनाइलाई उनले आफ्नो विचारसँग मेल खाएको भनी जिकिर गरेका छन् । उनले यसलाई माहोल परिवर्तन हुँदै छ भनेर बुझ्न आग्रहसमेत गरेका छन् । 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ११:५६
Weather Update