
काठमाडौं— काठमाडौं महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।
महानगर प्रमुख बालेन साहले उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।
उनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी संरक्षण गर्ने तोकेको उल्लेख गर्दै सरकारले भारतसँग कूटनीतिक पहलमार्फत आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।
महानगरभित्र प्रदर्शनमा निषेध गरिए पनि देशकै अन्य क्षेत्र र विदेशमा प्रदर्शन भएमा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको ठहर छ ।
बिहीबार साँझ मात्र महानगर प्रमुख साहले समाजिक सञ्जालमार्फत विवादित अंश सच्याउन तीन दिनको समय दिएको र नसच्चिए महानगरभित्र भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए ।