
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग निर्णायक वार्तामा मात्रै बस्ने बताएको छ ।
माइतीघर मण्डलामा शुक्रबार पनि जारी रिले अनशनमा स्थलमा न्यूजगृहसँग बोल्दै अध्यक्ष गंगाराम तिवारीले सरकारसँग निर्णायक वार्तामा बस्ने बताएका हुन् ।
उनले शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र कानुन मन्त्रालयका अधिकारीसँग मात्रै वार्तामा बस्ने बताए ।
त्यसभन्दा बाहिरका जोसुकै भए पनि वार्ता नबस्ने अध्यक्ष तिवारीले बताए । उनले भने, ‘शिक्षा, अर्थ र कानुन मन्त्रालयसँग मात्र हाम्रो वार्ता हुन्छ । अरुसँग हुँदैन ।’
यसअघिको आन्दोलनमा सरकारले ठगेको बताउँदै यो आन्दोलनबाट माग पूरा गराएरै छाड्ने अध्यक्ष तिवारीले जनाए ।
उनले भने,‘हामीलाई सरकारले पटक–पटक ठग्ने, छल्ने, ढाँट्ने काम गरेको छ । यो आन्दोलनबाट माग पूरा गराएरै छाड्छौं । अनिश्चितकालीन विद्यालय बन्दसमेत गर्छौं । त्यसबाट हुने क्षति सरकारले व्यहोर्नुपर्छ ।’
सरकारले वार्तामा बोलाउने तयारी गरेकाे खबर मिडियाबाट आफूले थाहा पाएको अध्यक्ष तिवारीले बताए ।