
काठमाडौं— गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । अवधि पुगेका, सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो ।
असार १ गते मन्त्रालयले उक्त सरुवा तथा पदस्थापन गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो । त्यस्तै, एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको छ ।
गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ भने गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।
कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो । उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहा सरुवा गरिएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सरुवा गरिएको छ । खतिवडालाई सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो ।
डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासी पूर्व र खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुर सरुवा गरिएको छ । उनीहरूलाई पनि सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो । त्यस्तै, रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रे सरुवा गरिएको छ ।
त्यस्तै, कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ । जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । काभ्रेको सहायक सीडीओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौं बाहिर सरुवा गरेको छ । उनीहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौं बाहिर पठाइएको हो ।