News Griha :: न्यूजगृह
शैक्षिक मेला रोक्ने महानगरको निर्णयलाई रास्वपा सांसदको समर्थन
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भृकुटीमण्डपमा आयोजना गरिएको शैक्षिक मेला बन्द गर्नु काठमाडौं महानगरपालिकाको अधिकार भन्दै सर्मथन गरेका छन् । 

शिक्षा मन्त्रालयले अनुमति दिएर आयोजना गरिएको मेला महानगरले रोकेको भन्दै एमाले सांसदले सदनको ध्यानाकर्षण गराएलगत्तै सांसद झाले यसप्रति आपत्ति जनाए । ‘हामी विनियोजन विधेयकमाथिको छलफलमा छौँ । एक जना माननीय रोष्ट्रममा पुगेर रोकिनुभएको छ । मेला रोकिएको हिजो नै हो आज होइन । सदन  नै किन रोक्ने,’ उनले भने ‘हामी त नयाँ छौँ सदनमा पुरानो दलले के सिकाउन खोज्दैछ हामीलाई, त्यसैले यसमा मेरो घोर आपत्ति छ ।’ 

त्यस्तै, उनले मेला रोक्ने महानगरपालिको निर्णय नियमसंगत भएको समेत दाबी गरे । ‘हिजो नै रोकिएको मेला । त्यो पनि स्थानीय निकायको नियमावलीअनुसार नै रोकिएको छ । त्यसमा अहिले हाम्रो माननीय सदस्यलाई बोल्न रोकेर यो मुद्दा ल्याउन अनावश्यक र अमर्यादित देखियो यसमा घोर आपत्ति छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली विनियोजित बजेटबारेको छलफलमा भाग लिन रोष्ट्रममा जाँदै गर्दा एमाले सांसदले चलिरहेको शैक्षिक मेला महानगरले रोकेको भन्दै आपत्ति जनाएपछि अन्य केही सांसदले समेत उनको ध्यानाकर्षण नियमसंगत नभएको भन्दै आपत्ति जनाएका हुन् । 

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको थियो ।

माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो । 

माध्यमिक विद्यालय सङ्घ हिसानले आयोजना गरेको मेला बन्द गर्न महानगरको शिक्षा विभागका अधिकारीहरू नगर प्रहरी सहित भृकुटीमण्डपमा पुगेका थिए । 

परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला बन्द गरेको महानगरले जनाएको छ । मेलाअसारको ३ गतेसम्म चल्ने तालिका थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १४:३३
Weather Update