
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले आफ्नो सरकार भएको बेला आफ्नो ठाँउमा बढी बजेट पार्ने प्रवृत्ति विगतदेखि नै चलिआएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद लिङ्देनले आफ्नो सरकार भएको बेला बजेट आफ्नो पक्षमा राख्ने जुन प्रवृत्ति विकसित भइरहेको छ, त्यसले सत्ता पक्षले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउने बताए ।
यस्तो खालको प्रवृत्तिलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले केन्द्रबाट बाटोको लागि १ लाख, २ लाख रकम छुट्याइने कस्तो संघीयता ल्याएको भन्दै यस्तो कनिका छर्ने बुद्धि मन्त्रीलाई कसले दिएको भनी प्रश्न उठाएका छन् ।
‘केन्द्रबाट बाटोको लागि छुट्याइने रकम १ लाख, २ लाख पनि हुने यसले कस्तो संघीयता ल्याइरहेको छ । यही हो तपाईंहरूले ल्याउनुभएको संघीयता, २० किलोमिटर बाटोको लागि ७० लाख, ५ लाख, २ लाख र १ लाख पनि छुट्याउनु भएको छ । कोही साथीहरूले पछाडि सुन्ना थपेर यति पनि परेको छ भनेर देखाउनु भएको छ । यस्तो बुद्धि मन्त्रीलाई कसले दियो, यस्तो ज्ञान कहाँबाट आयो कनिका छर्ने । सचिवहरूलाई मन्त्रीको मुख्य सल्लाकार भनिन्छ । न सचिवले दिएको ज्ञान हो कि, पार्टीले दिएको ज्ञान हो कि, आफैँलाई आएको ज्ञान हो कि ?’
अध्यक्ष लिङ्देनले बैठकमा सत्ता पक्षले समर्थन गर्ने, विपक्षले विरोध गर्ने र अन्त्यमा कमा, फुलस्टप पनि परिवर्तन नहुने, जे छ ताली ठोकेर अघि बढ्ने खालको प्रवृत्ति पनि बढ्दै गएको बताए ।