न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : कार्की

काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताएका छन् ।
शुक्रबार संसदीय सुनुवाइ समितिमा समिति सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले कोर्षअनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताए ।
उनले उक्त प्रणाली लागु भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताए । आफ्नो कार्यकालमा नै यो व्यवस्था लागु गर्नेगरी अघि बढेको उनको भनाइ छ ।
कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताएका छन् । आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेसा छोडेर बाहिरिन तयार रहेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ११:१७