News Griha :: न्यूजगृह
विद्यार्थी बेहोस हुन थालेपछि बैतडीमा पठनपाठन प्रभावित

बैतडी— बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए ।

विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ । उनले भने,‘विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या छ । विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।’

पाँच वर्ष पहिला पनि सो विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । बिहानको  समयमा लाइन लागेका बेला र कक्षा कोठामा छात्रा बेहोस भएर ढल्ने गरेका छन् । समस्याबारे सिगास गाउँपालिकालाई जानकारी गराइएको प्रधानाध्यापक चन्दको भनाइ छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुनेलगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताए । उनले भने,‘सुरुमा कुनै एक विद्यार्थीमा मास हिस्टेरिया भएको  र त्यसपछि अरुमा पनि देखिएको हुनसक्छ । सुरुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्नसके समस्या समाधान हुन्छ ।’

विद्यार्थीमा यस्तो समस्या देखिए केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डा.दीपेश श्रेष्ठले सुझाव दिए । उनले भने,‘सुरुमा एक विद्यार्थीमा यस्तो समस्या देखिने र विस्तारै अरुमा पनि लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर नियन्त्रण गर्न सकिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:०६
Weather Update