News Griha :: न्यूजगृह
कार्कीलाई प्रश्न– जिल्ला अदालतमा प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्ति गर्ने व्यवस्था उच्चमा पनि लागु गर्दा के हुन्छ ?

काठमाडौं— संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर जारी छ ।

समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको सुनुवाइमा पेस गरेको कार्ययोजनाका विषयमा भइरहेको प्रश्नोत्तरमा संसदीय सुनुवाइ समितिका सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिको विषयमा अप्रिय टिकाटिप्पणी हुँदै आएको भन्दै त्यसलाई न्यायपरिषद्को निर्देशिका बनाउँदा उक्त विषयमा छलफल र ध्यानाकर्षण भयो कि भएन भनेर प्रश्न गरेका छन् ।

उनले भने,‘नेपालको संविधानको व्यवस्थाअनुसार रिक्त रहेको जिल्ला न्यायाधीशको नियुक्ति गर्दा ८० प्रतिशत लिखित प्रतिस्पर्धाबाट लिने गरिएको छ, हाल उच्च अदालतमा नियुक्त न्यायाधीशको बारेमा धेरै प्रिय अप्रिय टिकाटिप्पणी हुने गरेका छन् । जिल्ला अदालतको जुन प्रणाली छ, त्यसलाई उच्चमा पनि लागु गर्दा के हुन्न सक्छ, तपाईंको दृष्टिकोण के छ ? न्यायपरिषद्ले न्यायाधीश नियुक्ति सम्बन्धि निर्देशिका बनाउँदा यो विषयमा छलफल भयो कि भएन ? यसलाई गम्भीरताको साथ लिइयो कि लिइएन ?’

त्यस्तै उनले पाँच वर्ष भन्दा पुराना र समग्रमा फछ्यौट हुन बाँकी चुनौतीको रुपमा रहेका २८ हजार ३०० थान मुद्दालाई फछ्यौट गर्ने योजना के छ ? भनेर समेत कार्कीसँग जिज्ञासा राखेका छन् ।

उनले भने,‘पाँच वर्ष भन्दा पुराना र समग्रमा तपाईंले नै २८ हजार ३०० थान मुद्दालाई फछ्यौट गर्नुपर्ने भन्नुभएको छ । हाम्रो न्याय प्रणालीको सबैभन्दा ठूलो चुनौती हो भन्ने मलाई लाग्छ, यो ब्याटलकलाई कसरी समाधान गरेर अगाडि जान सकिन्छ,यसका निमित्त तपाईंको सोच के छ ?’

सुनुवाइ समितिका सदस्यले प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायको जिम्मेवारीमा रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:५६
Weather Update