News Griha :: न्यूजगृह
‘सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो’

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने दाबी गरे ।

सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउनमा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो ।

निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहोर्‍याए ।

उनले भने,‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईंहरूले देखिरहनु भएको छ । गठबन्धनको चिन्ता सरकार कसरी टिकाउने । सरकार कसरी जोगाउने ? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । यसकारणले यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । मन्त्रालयको बाँडफाँट गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगीसकेको छ ।’

उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप समेत लगाए ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १९:२७
Weather Update