News Griha :: न्यूजगृह
धान रोपाइँ गर्न पानी पर्खंदै किसान
प्रतिनिधिमूलक तस्बिर ।

भजनी— कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुन्थे ।

आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ ।

‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक डेढ महिना भइसकेको छ’,चौधरी भन्छन्,‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’

यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् । भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन् ।

भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गरेका छन् । सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बसेका उनी पानीको पर्खाइमा छन् ।

‘अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन’, चौधरीले भने,‘यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:४६
Weather Update