News Griha :: न्यूजगृह
शैक्षिक मेलामा कामपाको एक्सन, के भन्छ हिसान ? 

काठमाडौं— नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ । माध्यमिक विद्यालय संघ (हिसान) ले बिहीबारदेखि भृकुटीमण्डपमा सुरु गरेको उक्त मेला सञ्चालनको उपयुक्त समय अहिले नभएको भन्दै कामपाले उक्त स्थानमा राखिएको प्रदर्शन कक्षहरू हटाएको हो ।

कामपाको शिक्षा विभागका अधिकारी र नगर प्रहरीको संयुक्त प्रयासमा त्यहाँ रहेका कक्षहरू हटाइएको हो । कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो ।

चारदिने शैक्षिक मेला ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’ रोक्न निर्देशन दिए पनि आयोजकले केन्द्र सरकारको सम्बन्धित निकायसँगको अनुमतिप्राप्त भएकाले मेलालाई निरन्तरता दिने जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको सो मेलाले माध्यमिक शिक्षा परीक्षा कक्षा १० र १२ को परीक्षाको परीक्षाफल प्रकाशन नभएको समयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न खोजेको भन्दै रोक्नका लागि बिहीबार दिउँसो कार्यक्रमस्थलमा महानगरपालिकाका सुरक्षाकर्मी पुगेका थिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरू कानुनतः दर्ता भई सञ्चालनमा रहेको, नियमानुसार राजस्व तिरेको र मेलाबारे केन्द्र सरकारका सम्बन्धित निकायबाट स्वीकृति लिएको तथा महानगरपालिककालाई जानकारी दिइएकाले स्थगन नगर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:०४
Weather Update