
काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
राजदूत चौधरीलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल र बंगलादेशबीचको सधैंको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारणलाइनसम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुंगा साबित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । साथै दुई देशबीच व्यापार सम्झौतामासमेत काम भइरहेको बुझेको श्रेष्ठले बताए ।
राजदूत चौधरीले पनि द्वीपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत् प्रसारणलाइन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । यस विषयमा निकै फलदायी छलफल भएको र दुई देशको व्यापार मन्त्रालयले समेत व्यापार सहजीकरण सम्बन्धमा काम गरिरहेको राजदूत चौधरीले बताए ।
भेटमा बंगलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकोमा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुन उपप्रधानमन्त्री श्रेष्ठलाई राजदूत चौधरीले आग्रह गरे । निमन्त्रणाको लागि कृतज्ञता व्यक्त गर्दै समयको उपलब्धता हेरेर उपस्थितिबारे जानकारी गराउने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
विश्व मातृभाषा दिवसको सन्दर्भमा जुन २३ मा ‘लभ एन्ड ल्याङ्ग्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारहरूको समेत कला प्रदर्शन हुने जानकारी गराइएको छ ।