
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीसहित तीन जनालाई प्रहरीले छाडेको छ ।
विद्यालय कर्मचारीहरूले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले परिषद्का अध्यक्ष तिवारी, वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ र जुम्ला जिल्लाका सचिव धनबहादुर महतोलाई पक्राउ गरेको थियो ।
अध्यक्ष तिवारीले न्यूजगृहसँग भने,‘प्रहरीले हामी तीनै जनालाई अहिले छाडेको छ । आन्दोलन शान्तिपूर्ण नै थियो । आन्दोलन सुरु भएको धेरै दिन भयो । साथीहरू आक्रोशित हुनुभयो ।’
विद्यालय कर्मचारीका मागबारे सडक र सदन दुबै तातेको बताउँदै अध्यक्ष तिवारीले सरकारले बुझ्नुपर्ने बताए । उनले भने,‘विद्यालय कर्मचारीको आन्दोलन सडक र सदन दुबै स्थानमा तातेको छ । सरकारले बुझ्नुपर्छ ।’
सरकारले यथाशीघ्र माग सम्बोधन नगरे आन्दोलन आक्राम रूपमा जाने उनले बताए । सरकारले हाम्रा माग छिटोभन्दा छिटो सम्बोधन नगरे आक्रामक रुपमा जान्छौं,’अध्यक्ष तिवारीले भने ।
विद्यालय कर्मचारी मुकेश यादवले प्रहरीको लाठी चार्जबाट दर्जनौं विद्यालय कर्मचारी घाइतेसमेत भएको बताए ।
तलब वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।