News Griha :: न्यूजगृह
सांसद आले भन्छन्— किराती ‘स्टन्ट’ मन्त्री हुन् 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताएका छन्  । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा विचौलियाले अपचलन गरेको बताएका हुन् ।

‘गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियासँग मिलेमतोमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका विचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ । गोठाटारको जग्गाको विषयलाई सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टीकरण सोधिएको छ,’ पूर्वपर्यटन मन्त्रीसमेत रहेका आलेले भने ।

उनले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरी हुँदापनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोपसमेत लगाए ।भने, मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ । कोषको अध्यक्ष मन्त्री र पदाधिकारी मस्त निन्द्रामा छन् ।’

सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो प्रचार गरेको दाबी गरे ।

उनले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन मागसमेत गरे । थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्री किरातीलाई आलेले चुनौतीसमेत दिए ।

उनले भने, ‘यस वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कुल ऋण ५० अर्ब नाघिसकेको छ । तर तीन महिनामा निगमले ४ अर्ब नाफा कमायो भनी पर्यटन मन्त्रीले सञ्चार माध्यममा झुटो बोलेको सुनियो । के हो यो ? आजको दिनमा जनतालाई भ्रम छर्न पाइँदैन ।’ 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:५९
Weather Update