
काठमाडौं— प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिएका छन् । बिहीबार बैठकको आकस्मिक समयमा उनीहरूले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरूपण गरिदिनुपर्ने बताए ।
नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरूले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गराए ।
सांसद अब्दुल खानले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिन सबैले पहल गर्नुपर्ने बताए । ‘नागरिकताबाट वञ्चित भएका सन्तानले काठमाडौंलगायत देशैभर आत्मदाह गर्ने प्रयास गरिरहेका छन्, यो रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्न सक्छन्, यसको जिम्मेवारी कसले लिने ? नेपाल सरकारले लिने कि न्यायालयले लिने ?,’ उनले प्रश्न गरे, ‘के नागरिकता माग्नु अपराध हो ? हामी नेपाली हौँ, नेपालमा बसोबास गर्ने नागरिक हौँ हामीलाई देशको नागरिकता चाहिएको छ भन्नु अपराध हो ?”
सांसद रेखा यादवले नागरिकता विधेयकसम्बन्धी विषयलाई न्यायालयले छिनो निरूपण दिनुपर्ने बताइन् । ‘यदि राज्य र न्यायालयले न्याय नदिने हो भने अबका युवा कहाँ जलान्, कसरी बाँच्लान्, यो देशमा कसरी रहलान्, यो देश रहनु छ भने युवालाई पनि सञ्चय गरेर राख्न सक्नुपर्छ, होइन भने यो देश कहाँ पुग्ला ?,’ उनले प्रश्न गरिन् ।
आफ्ना देशमा बस्ने नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड दिँदै उनले आफू नेपाली भएर नै उनीहरूले नागरिकता माग गरेका विषयलाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताइन् । रासस