News Griha :: न्यूजगृह
भारतीय नक्सामा नेपाली भूमि समेटिएकोमा सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : सांसद पन्त

काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको संसद् भवनमा अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्सामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधीनताप्रतिको बेवास्ता भएको बताए । 

उनले सो नक्साप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाउन सरकारसँग माग गरे । उनले भने, ‘यस्तो नक्साप्रति हाम्रो मौनता देशको स्वाधीनताप्रति को बेवास्ता हो । त्यसैले यस्तो नक्साप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी दिन माग गर्दछु ।’

उनले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताए । केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै यसबारेमा सरकारको स्पष्ट धारणाको माग गरे । उनले ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्यको पनि विरोध गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:४७
Weather Update