News Griha :: न्यूजगृह

काठमाडौं— पशुपति शर्मा र शान्तिश्री परियारले संयुक्त रूपमा गाएको गीत ‘हाई सन्चै’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । 

देशमा देखिएको आर्थिक मन्दीको असर र त्यसबाट जनजीवनमा परेको प्रभावको कथालाई समावेश गरी निर्माण गरिएको भिडिओलाई एकिन्द्र साराशंकरले निर्देशन गरेका हुन् । भिडिओमा साराशंकर आफैँले अभिनय गरेका छन् भने गीतको शब्द समेत उनैले लेखेका हुन् । 

भिडिओमा साराशंकरसहित अभिनेत्री बेदना राई र बालकलाकार आयुषी ढकालको अभिनय रहेको छ । 

भिडिओमा ऋण तिर्न नसकेपछि आत्महत्या गर्न बाध्य युवाको पीडालाई समेटिएको छ । त्यस्तै, सहकारी समस्या, बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीले पाएको पीडासँगै बेरोजगारीको मारमा परेको परिवारको कथालाई भिडिओले समेटेको छ । 

‘यो आम नेपालीको कथा समेटिएको गीत हो । र, सबैजनालाई गीत र भिडिओको कन्टेन्टले कनेक्ट गर्छ भन्ने हामीलाई लागेको छ,’ म्यूजिक भिडिओ निर्देशक तथा गीतकार साराशंकरले भने, ‘गीत र भिडिओमार्फत समसामयिक विषयवस्तुलाई देखाउन खोजिएको छ ।’

लोक तथा दोहोरी गीतको निर्देशन तथा कोरियोग्राफीमा चम्किसकेका एकिन्द्र साराशंकरले आफ्नै लगानीमा यो गीत सार्वजनिक गरेका हुन् । गीतमा सुनील परियारको संगीत रहेको छ । 

सार्वजनिक म्युजिक भिडिओलाई चक्रबहादुर बरालले छायाङ्कन गरेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् । 

सार्वजनिक भिडिओलाई दर्शकहरूले रुचाएका छन् । सामाजिक सञ्जालमा यो गीत समय सान्दर्भिक र आम मान्छेको कथा बोकेको भनेर प्रयोगकर्ताहरूले शेयर गरिरहेका छन् । त्यस्तै, सामाजिक सञ्जाल टिकटकमा पनि गीतको हजारौँ भिडिओ बनिसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:२७
Weather Update