
काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथतिर छिरेको भन्दै व्यंग्य गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो सांसद आलेले पशुपतिनाथमा भएको अनियमितताको छानबिन गर्ने समितिका संयोजक देवी बराललाई हटाएर पर्यटन मन्त्रीले पुरस्कृत गरेको आरोप लगाए ।
उनले भने, ‘गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । पहिलोपटक २०७९ माघ १४ गते तार काटियो, पशुपति क्षेत्र विकास कोषका सदस्यको संयोजकत्वमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्य तथ्य पत्ता लगायो । तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिका संयोजक देवी बराललाई पुरस्कार स्वरूप सदस्यबाट हटाइयो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो । त्यसपछि चोरले बल पायो र दोस्रोपटक २०७९ चैत्र १४ गते चोरी गर्यो । फेरि २०८० जेठ २९ गते तार काट्यो र घ्याम्पे दान पेटिका हरायो । मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ ।’