
काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले भारतस्थित नेपालका राजदूतले हिन्दु धर्मको पक्षमा वकालत गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद पन्तले भारतस्थित नेपाली राजदूत शंकर शर्माले घुमाएर हिन्दु राष्ट्रको वकालत गरेको बताएका हुन् । ‘उनले नेपाल हिन्दु राष्ट्र नै भएको भए राम्रो हुन्थ्यो भन्ने नेपाली जनताको भावना रहेको बताएर के भन्ने खोजेका हुन् ?’ भन्ने प्रश्न पनि सांसद पन्तको थियो ।
उनले भने, ‘नेपालले भारतको नयाँ भवनमा राखिएको नक्साबारे राजदूत शंकर शर्माको अभिव्यक्ति पनि ठिक भएन । के भारतले दिएको परिभाषा नेपालले पनि स्वीकारेको हो ? राजदूतको भनाइ आफैमा अन्तरविरोधी छ । यस बारे नेपाल सरकारको दृष्टिकोण के हो ? सदनलाई स्पष्ट पारियोस् । ग्रेटर नेपालको नक्सामा सुगौली सन्धि र अघिको नेपाल र पछिको नेपाल स्पष्ट छुट्टाएको छ । तर, भारतको नयाँ संसद् भवनमा भएको नक्सामा कुनै ढंगले पनि अहिलेको र पहिलेको नछुट्टाइ समान ढंगमा वर्तमान भारतकै अंग जसरी देखाइएको छ ।’