काठमाडौं— सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव थिए ।
सचिवहरूमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताए । उनले मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवका रूपमा कार्यरत शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताए ।
तीन महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्य सचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।