News Griha :: न्यूजगृह
नेपाल र यूएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान यूएई इच्छुक

काठमाडौं— नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।

बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी बमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा यूएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए । बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्था र जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरणका विषयमा प्रस्ताव राखिएको थियो ।

नेपालका तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गरेका मन्त्रालयका सहसचिव राजिव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकनका साथै नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानूनको जानकारी दिए । उनले नेपाली श्रमिकको विवरण तथा अलेखवद्धरूपमा युएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तीमा सहजिकरणका विषयमाथि छलफलको प्रस्ताव राखेका थिए ।

नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियाजस्ता विषयमाथि छलफल भएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । 
अब्दुल्ला अलनुइमीले नेपाल सरकारका तर्फबाट राखिएका प्रस्ताव सम्बोधन गर्न यूएईको श्रम बजारको अवस्था चित्रण गर्दै आफ्नो कार्यदल र मानव संसाधन र प्रवासी मन्त्रालय सकारात्मक रहेको धारणा राखे  ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २०:४७
Weather Update