काठमाडौं— कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् ।
वार्षिक नीति तथा कार्यक्रममा सामाजिक न्याय सहितको समृद्ध कोशी प्रदेश निर्माणको अवधारणा कार्यान्वयन गर्ने, प्रदेशका जनताको शान्ति, समृद्धि र विकासको चाहना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने, तोकिएको कार्य सम्पन्न गर्न र लक्षित उद्देश्य प्राप्त गर्न योजनागत, नीतिगत र कार्यगत व्यवस्थालाई प्रभावकारी बनाइने दाबी गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङ्गले, प्रशासनिक तथा विकास व्यवस्थापनको प्रभावकारिता अभिवृद्धि गर्न कोशी प्रदेश विकास समस्या समाधान संयन्त्र निर्माण गरिने, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य सेवाका राष्ट्रसेवकहरूको अभिलेख राख्न प्रदेश किताबखानाको सुदृढीकरण गरिने बताए ।
नीति तथा कार्यक्रममा आधुनिक सूचना प्रविधिमा आधारित अभिलेख प्रणालीको विकास गरिने, मन्त्रिपरिषद्का निर्णयहरूको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाइने र निर्णय कार्यान्वयनको अवस्था विश्लेषण गर्ने, मन्त्रिपरिषद्लाई सूचना प्रविधिमैत्री बनाउने, कोशी प्रदेशमा बसोबास गर्ने सामाजिक तथा सांस्कृतिक दृष्टिले पछाडि परेका युवा जनशक्तिलाई सार्वजनिक तथा सरकारी सेवाको लागि हुने प्रतियोगितात्मक परीक्षामा भाग लिने सक्षमता अभिवृद्धि गर्न तयारी कक्षा सञ्चालन गरिने लगायतका विषय समेटिएका छन् ।
नसर्ने रोगको एकीकृत व्यवस्थापन गर्न‘ स्वास्थ्य नागरिक’ अभियान सञ्चालन गरिने, चुरे लगायतका संवेदनशील जलाधार क्षेत्रको उपल्लो र तल्लो तटीय सम्बन्धका आधारमा नदी प्रणालीमा आधारित एकीकृत जलाधार व्यवस्थापन कार्य सञ्चालन गरी, महत्वपूर्ण नदी, ताल, पोखरी, सिमसार तथा जलाधार क्षेत्रको प्रभावकारी व्यवस्थापन गरिने, कोशी प्रदेशलाई आकर्षक, रमणीय, सुरक्षित र गुणस्तरीय पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आन्तरिक तथा बाह्य र सीमापार पर्यटकहरूलाई आकर्षित गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
विराट दरबार, बर्जुताल, मुन्धुम मार्ग, तिनजुरे–मिल्के–जलजले–ओलाङ्चुङ्गोला जस्ता सम्भावनायुक्त पर्यटकीय स्थलहरूको परिक्रमा मार्ग विकास गरी पर्यटकहरूको बसाइ अवधि लम्ब्याई प्रदेशको सामाजिक आर्थिक उपार्जनमा टेवा पुर्याउने, प्रदेशमा आम जनसमुदायबाट प्रकट भएका भावनाहरू एवं राजनीतिक दलहरूले उठाएका शान्ति, सुव्यवस्था र विकासका विषयवस्तुका अन्तरनिहित चाहनालाई यो नीति तथा कार्यक्रमले समेटेको प्रदेश सरकारको दाबी छ ।
प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने तालिका छ ।