News Griha :: न्यूजगृह
नयाँ बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्ने निर्णयको व्यवसायीद्वारा विरोध 

काठमाडौं— काठमाडौं भित्रने र बाहिरिने सवारी साधन नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न दिने निर्णयको यातायात व्यवसायीले विरोध गरेका छन् । 

बुधबार पत्रकार सम्मेलन गरी उनीहरूले यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरूले काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने जनाएको सो निर्णयको विरोध गरेका हुन् । 

महानगरको सो निर्णय अव्यवहारिक भएको उनीहरूको दाबी छ । सो निर्णयले यात्रुलाई असुविधा हुने, श्रमिकहरूको रोजीरोटी खोसिने भन्दै उनीहरूले निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन् ।

महानगरले निर्णय नसच्याए सडक आन्दोलन गर्ने समेत उनीहरूको चेतावनी छ । पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौति रहेको बताए । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।

काठमाडौं महानगरले गत जेठ १९ गते सार्वजनिक सूचना प्रकाशन गर्दै आगामी असार १ गतेदेखि उक्त निर्णय अनिर्वाय रुपमा लागू गर्न भनेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:४८
Weather Update