
काठमाडौं— सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् ।
संसद्मा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन् । यद्यपि बजेट संशोधन गर्ने कुरामा सत्तारुढ दलहरूको स्वार्थ बाझिएको हुनसक्ने पनि प्रतिपक्षी दलहरूले आशंका गरेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दलका सांसदहरूलाई भागबन्डा पुर्याउनका लागि बजेट संशोधन गर्ने कुरा गरिएको बताए । सरकारले बजेट संशोधन गर्ने कुरा सुनिए पनि बजेटको आधारभुत पक्षहरूमा संशोधन गर्न नखोजिएको उनले बताए ।
प्रमुख सचेतक गिरीले सत्तापक्षका सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रहरूमा भागबन्डा पुर्याउनका लागि बजेट संशोधनको कुरा गरिएको दाबी गरे । सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले संशोधन गरेर भएपनि पास गर्ने भन्नुभएको भन्दै यसबाट आशा गर्नुपर्ने ठाउँ नदेखिएको प्रमुख सचेतक गिरीले बताए ।
उनले भने, ‘आम जनतामा आशा विश्वास जघाउने प्रकारले बजेट आउन सक्नुपर्थ्यो । यि पाटाहरूमा कहीँ पनि बजेटले ध्यान दिएको छैन । अहिले संशोधन भनिएको कुरा मात्रै के हो भने सत्ता पक्षका माननीय ज्युँका केही निर्वाचन क्षेत्रमा पैसा कम भयो त्यसकारणले त्यसमा उहाँहरूको असन्तुष्टि हो । त्यसैलाई संशोधन गर्ने, त्यसैलाई सम्बोधन गर्ने भनेर पास गराउनका निम्ति र सत्ता टिकाउनका लागि प्रधानमन्त्री ज्यूले यो खालको कुरा राख्नुभएको हो । यसमा ठुलो आशा गर्नुपर्ने ठाउँ म देख्दिनँ ।’
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटले सत्तारुढ दलका धेरै सांसदहरूलाई असन्तुष्ट बनाएको बताए । उनले विधि र कानूनले दिएसम्म बजेटलाई परिमार्जन गरेर लैजानुपर्ने जिकिर गरे ।
पौडेलले भने, ‘संशोधन हुन्छ कि हुँदैन भन्नेकुरा हाम्रो विधिले र कानूनले साथ दिदाँसम्म परिमार्जन गरेर लैजानुपर्छ । छुटेका ठाउँमा विनियोजन गरेर सन्तुलन मिलाउनुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले बजेटलाई संशोधन गर्नु गल्ती हुने बताए । उनले भने, ‘जहिले पनि महत्वकाङ्क्षी बजेट आउने अनि कार्यान्वयन नहुने अनि त्यसको आकार घट्ने हिसाबको छ । बजेट संशोधन भएको अहिलेसम्म हामीले देखेको छैन । अहिलेसम्म संशोधन भएको रेकर्ड देखेको छैन ।’
जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले संसद्मा छलफलपश्चात बजेट संशोधन गर्दा राम्रो हुने बताइन् । उनले भनिन्, ‘संसद्मा सोचेजस्तो बजेट आएको छैन । संसद्मा बजेट अहिले संशोधन गर्नुपर्छ भन्ने कुरा आएको छ । तर बजेट संशोधन गर्नु ठिक कि बेठिक भन्ने सवाल पनि उठेको छ । मन्त्रालयले तयार पारेको बजेटलाई संशोधन गर्दाखेरी सरकारले ल्याएको बजेट सरकारले नै संशोधन गर्ने कि नगर्ने भन्ने कुरा पनि आएको छ । तर मेरो कुरा सरकारले बनायो, हामी संसद्मा छलफल गरेर ताली मात्रै बजाउने होइन नि । छलफल गरेर फेरि संशोधन गर्न पाउँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । र सांसदहरूको गरिमा बढ्छ भन्ने लाग्छ ।’