News Griha :: न्यूजगृह
पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता छ : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार साई शिक्षा निकेतन माध्यमिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरे ।

उनले बालबालिकालाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताए । बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मिहिनेत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ थियो ।

महामन्त्री थापाले स–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरूलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताए ।

‘अहिले म यसो नेताहरू हेर्छु, पटक–पटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटक–पटक चुनाव जितेकालाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाले बालबालिकालाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:१४
Weather Update