
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक भएको बताएका छन् ।
बुधबार विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा उनले नेपाल र भारतबीच खुला सिमाना र ऐतिहासिक सांस्कृतिक सामीप्यका कारण जनस्तरमै गहिरो सम्बन्ध भएको र त्यसले मुलुकमा समृद्धिमा हित पुग्ने काम भएको बताएका छन् ।
‘नेपाल र भारतबीच दुई असल छिमेकीको सम्बन्ध मात्र होइन, खुला सिमाना र ऐतिहासिक सांस्कृतिक सामीप्यका कारण जनस्तरमै गहिरो सम्बन्ध छ । मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा म पनि केही दिनअघि भारत भ्रमणमा गएको थिएँ । त्यहाँ प्राप्त सम्मान र आतिथ्यलाई मैले नेपालप्रतिको भारतको सम्मान र अपनत्वका रूपमा लिएको छु,’ उनले भने, ‘यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेका छौँ । मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक छ । ’
उनले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्द्धनका लागि विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको बताएका छन् ।
विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आप्mनो नीति कार्यक्रमभित्र समेटेको उनको भनाइ छ ।