News Griha :: न्यूजगृह
विद्यार्थी सङ्गठनले लगाएको ताला फोडेर बालेनले खुलाए विद्यालय

काठमाडौं— काठमाडौं महानगरपालिकाले शैक्षिक सङ्गठनले विद्यालयमा लगाएको ताला फोडेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको छ । 

महानगरपालिका प्रमुख बालेन साहले अमुक दलको शैक्षिक सङ्गठनले पढ्ने ठाउँमा ताला लगाएर अपराध गरेको टिप्पणी गरेका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी होस वा निजी, विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने भन्दै महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको बताएका छन् । 

उनले लेखेका छन्, ‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएका छौ।’

उनले थप लेखेका छन् ,‘काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो। हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौ। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो। यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २०:२१
Weather Update