
गोरखा— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको विकास, सुरक्षा, शिक्षालगायत विषयमा मंगलबार छलफल गरेका छन् ।
संगठन विस्तार अभियान तथा विकास आयोजना अनुगमन गर्न सोमबार गोरखा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतसँग छलफल गरेका हुन् ।
संक्षिप्त छलफलमा डा. भट्टराईले जिल्लाको सुरक्षा अवस्था, विकासबारे चासो राखे । उनलाई सीडीओ र सुरक्षा प्रमुखले रिपोर्टिङ गरेका थिए । छलफलमा सीडीओ दिनेशसागर भुसाल, जिल्ला प्रहरी प्रमुख एसपी अनुपराज श्रेष्ठ, सशस्त्र प्रहरीका डीएसपी सुजित विष्ट, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख जयन्दप्रसाद उपाध्याय, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन उपस्थित थिए ।
त्यस्तै डा.भट्टराईले स्थानीय नेताकार्यकर्तालाई जेठ २५ र २६ गते बसेको नेसपाको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको निर्णयबारे जानकारी गराउँदै ६ महिने संगठन विस्तारमा लाग्न निर्देशन दिए । नेताकार्यकर्ताले पार्टीको संगठन निर्माण र विकासको विषयमा अध्यक्ष डा.भट्टराईको ध्यानाकर्षण गराएका छन्।