
गोरखा— नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय नेताकार्यकर्ताहरूलाई संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन् ।
विकास आयोजना अनुगमन गर्न सोमबार गृहजिल्ला आएका डा. भट्टराईले पौवाटारमा स्थानीय नेतासँग सङ्क्षिप्त कुरा गर्दै संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेताकार्यकर्ताहरूलाई ज्यूँदो माछा बन्न आग्रह गरे । 'जिउँदो माछा छाल विरुद्ध पौडिन्छ, मरेको माछा छालसँगै बग्छ । हामी मरेका माछा होइनौँ, ज्युँदा माछा हौं,' डा. भट्टराईले भने ।
उनले यही जेठ २५ र २६ गते दुई दिन चलेको पार्टीको तेस्रो पूर्ण बैठकका निर्णयहरूसमेत स्थानीय नेताकार्यकर्तालाई सुनाए । डा. भट्टराईले यथास्थितिमा कोही कसैसँग पार्टी एकताको सम्भावना नरहेको तर रूपान्तरणसहितको ध्रुवीकरण आवश्यकता भने रहेको बताउँदै नेसपा वैकल्पिक शक्तिको रूपमा अगाडि बढेको र यसलाई थप प्रभावकारी बनाउने बताए ।

उनले भने, 'तत्काल पार्टी एकताको सम्भावना छैन । पुराना पार्टी शक्तिहीन भएर बसेका छन् । राजनीति सङ्कटमा छ । हामीले हिम्मत हार्नु हुँदैन ।' स्थानीय नेताकार्यकर्ताले वडा तहमा पार्टीको अवस्थाबारे अध्यक्ष डा. भट्टराईलाई जानकारी गराएका थिए । साथै उनीहरूले सडक, बाटो, कृषि लगायतका विषयमा डा. भट्टराईको ध्यानाकर्षण गराए ।