
काठमाडौं— नेकपा एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो’ विषयक कार्यक्रममा उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताए ।
उनले नेकपा एकीकृत समाजवादीका तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा ७० वर्षे उमेर हद हटाइएको बताए ।
उनले एमाले पुराना पार्टीहरूमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गरे । ‘पुष्पकमल दाहाल प्रचण्डजी २०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ । हाम्रो पार्टी भित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ,’ उनले भने, ‘एकातिर एक जनामात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने होइन ।’
एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ छ ।
महासचिव पोखरेलले विकास र समृद्धिको लागि एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताए । उनले भारतले नयाँ संसद् भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसद्मा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्ने विडम्बना देखिएको बताए ।