News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने

काठमाडौं— सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । 

संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो । 

कार्यतालिकामा उजुरीकर्ताहरूसँग छलफलका लागि जेठ ३० गते बुधबार बिहान ११ बजेको समय तोकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने र सो प्रस्ताव अनुमोदन गर्नेलगायतका सचिवालयको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । 

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि २९ वटा उजुरी परेको र सो उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई दिइएको छ ।

संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:३५
Weather Update