
काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुँदैछ ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रस्तावित न्यायाधीशउपर परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुन लागेको हो ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल गर्ने कार्यतालिका छ । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।
उनीमाथि १ जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई र अधिवक्ता अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले पनि उजुरी गरेका छन् ।
समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेलमार्फत आएको र अरू उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।
कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जानेछन् ।
यसअघि आइतबार मात्रै पत्र लेखेर न्यायपरिषद्ले कामु प्रधानन्यायाधीशलाई अनिवार्य अवकाशमा जाने मिति सम्झाएको थियो ।