
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
कोशी तथा बाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस र बाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेशलगायत बाग्मती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको भनाइमा मध्य तथा पश्चिम तराईका भागमा अत्यधिक गर्मी हुने सम्भावना छ ।