काठमाडौं— आफूहरूको माग बजेटमा नसमेटिएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगायत कर्मचारीहरूले काठमाडौंमा थाल ठटाएर प्रदर्शन गरेका छन् ।
आइतबार माइतीघरबाट नयाँबानेश्वरसम्म थाल थटाएर प्रदर्शन गरेका उनीहरूले बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निःशुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । संघीय शिक्षा ऐन जारी गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेकाले थाल ठटाएर प्रर्दशन गर्नु परेको उनीहरूको भनाई छ ।
सामुदायिक विद्यालय संघका अध्यक्ष शशि केसीले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनमा सरकारले माग सम्बोधन नगरे लाखौं कर्मचारीहरूलाई सडकमा उतार्ने चेतावनी दिए । ‘सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारीहरूलाई अझ पनि अपहेलित गरियो, अपमान गरियो भने हामी लाखौं कर्मचारीहरू सडकमा उर्तान बाध्य हुने छौं,’ उनले भने, ‘हामी ४० हजार कर्मचारीहरूले नेतृत्व गरिराखेका छौं । यदि यो शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले हाम्रो आवाज सुनेन भने हामी द्वन्द्व गर्न बाध्य हुने छौँ।’
सामुदायिक विद्यालयका कर्मचारीका लागि बजेटमा कुनै सम्बोधन नहुनु दुर्भाग्य भएको उनको तर्क छ । ‘नीति तथा कार्यक्रममा आइसकेको बजेटमा एक रुपैयाँ पनि सामुदायिक कर्मचारीहरूलाई नछुटाउनु दुर्भाग्यको कुरा हो । हाम्रो माग भनेको नीति तथा कार्यक्रममा छुट्याइएको बजेट सामुदायिक कर्मचारीहरूले पाउनुपर्छ भन्ने हो,’ केसीले भने ।