
काठमाडौं— पेसागत महासङ्घले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कर्मकाण्डी भएको निष्कर्ष निकालेको छ ।
महासङ्घको २६ र २७ जेठमा बसेको दोस्रो बैठकले संकटग्रस्त अर्थतन्त्रको सुधार, भ्रष्ट्राचार तथा महङ्गी नियन्त्रण गर्दै उत्पादनमूलक कार्यक्रमका माध्यमबाट गरिबी निवारण गर्दै नीति तथा कार्यक्रम समाजवादउन्मुख हुनु पर्नेमा त्यस्तो हुन नसकेको निष्कर्ष निकालेको हो ।
बैठकले भारत सरकारले आफ्नो नयाँ संसद् भवन अगाडि राखेको मुरल नक्सामा नेपाली भूभाग पनि समेटिएको भन्दै गम्भीर आपत्ति प्रकट गर्दै भारत सरकारलाई कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकार समक्ष माग गरेको छ । यस्तै विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधन सम्बन्धी सन्धि सम्झौता नेपालको हित अनुरूप लागू गर्न गराउन पनि महासङ्घले सरकारसँग माग गरेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष प्रेमलकुमार खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार र राष्ट्रद्रोह गर्ने अपराधीलाई कडा कारबाही गर्न माग गरे ।